काठमाडौं । नेपाल एयरलाइन्सले आजदेखि लागू हुनेगरी एक महिनाका लागि हवाई भाडामा भारी कटौती गरेको छ । नेपाल एयरलाइन्सको महँगो टिकट दरका कारण हङकङका नेपालीहरुले विरोध गरिरहेका बेला यस्तो निर्णय आएको हो ।
एयरलाइन्सले एकतर्फी टिकटको २००६ हङकङ डलर र दुईतर्फीका लागि ३२०४ हङकङ डलर कायम गरेको छ । यो ट्याक्ससहित जोडिएको शुल्क हो । यसअघि एकतर्फी टिकट दर सस्तोमा ४३६५ र दुईतर्फी दर ६१०० हङकङ डलर थियो ।
हाल घटेको भाडादर स्थायी भने होइन । यो एक महिनाका निम्ति ल्याइएको अफर हो ।
नेपाल एयरलाइन्सको कन्ट्री म्यानेजर कार्यालयबाट ट्राभल एजेन्सीहरुलाई जारी गरिएको पत्रअनुसार यो निर्णय डिसेम्बर २९ तारखिका दिन गरिएको हो ।
यो निर्णय जनवरी १ देखि ३१ तारिखसम्म मात्र लागू हुनेछ । यो फाइदा लिन उक्त अवधिभित्र यात्रा गर्नुपर्नेछ ।



