images
images

२०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा


  • 385
    SHARES
  • २०८० पौष १२ गते बिहीबार

    २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा

    काठमाडौं । यो अङ्ग्रजी वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरोत्थानका लागि सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।

    सरकारको लक्ष्य आज बुधवार पूरा भएको हो । यस वर्ष आज बिहान ५ बजेसम्ममा नौ लाख ९९ हजार एक सय नौ जना पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । आज दिउँसो ४ बजेसम्ममा थप तीन हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका अध्यागमन विभागले जनाएको छ । सन् २०२३ सकिन चार दिन बाँकी छँदै सरकारको लक्ष्य पूरा भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

    कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए । तर कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा विदेशी पर्यटकको सङ्ख्या दुई लाख ३० हजार ८५ जनामात्रै थियो । त्यो सङ्ख्या अझै घटेर सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटक मात्रै नेपाल आए । कोभिड–१९ बाट बच्न लगाइएका प्रतिबन्धहरू हटेपछि सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका थिए ।

    सरकारले अझै राम्रोसँग बजारीकरणसहित पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको भए सन् २०१९ कै हाराहारीमा पर्यटक आउने सम्भावना रहेको निर्देशक लामिछानेले बताए । तर यस वर्षको पर्यटक आगमन पनि नेपालका लागि उत्साहपूर्ण रहेको उनको भनाइ छ । यो वर्ष नेपालमा भारत, अमेरिका र चीनबाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । पर्यटन बोर्डले अब वार्षिक १२ लाख पर्यटक भित्र्याउने गरी तयारी शुरु गरेको जनाएको छ ।


    images
    images

    Logo