काठमाडौं । जुम्लामा हवाई जहाजको टिकट वितरणमा कोटा प्रणाली लागू गर्ने सहमति भएको छ । निजी कम्पनीले मनपरी रुपमा टिकट बाँडेको भन्दै सो कार्य रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका हुन् ।
लामो समयदेखि जुम्ला विमानस्थलमा हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन् । विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो । वैठकमा उडान हुने अघिल्लो दिन नै वितरण गरिसक्ने गरी सम्बद्ध पक्षबिच सहमति गरिएको हो ।
बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ । जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको छ ।
प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई/दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ । टिकटलाई तीनथरी बनाएर ‘ए’ जरुरी काम परेकालाई, ‘बी’ बिरामीका लागि र ‘सी’ सरकारी कर्मचारीका लागि दिइने निर्णय भएको छ ।
बैठकमा एयरलाइन्स कम्पनीका प्रतिनिधिले सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने बताएका छन् । जुम्लामा नेपाल एयरलाइन्स, सीता, तारा र समिटका जहाजले उडान गरिरहेका छन् । पछिल्लो समय सुर्खेत र नेपालगन्जबाट यात्रु नपाउने गरेको भन्दै कम उडान गर्न थालेपछि जुम्ला विमानस्थलमा यात्रुको चाप बढेको छ ।



