काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र ग्यास)को आयात ३.७३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा १ खर्ब ७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । उक्त आयात रकम यसपटक घटेर १ खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो ।
२०८०÷८१ को पहिलो ५ महिनामा ५३ अर्ब ९० करोड रुपैयाँको ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिभन्दा बढी परिमाणमा भित्रिएपनि आयात मूल्य भने घटेको छ । २०७९/८० को मंसिरसम्ममा ५५ अर्ब ४८ करोड रुपैयाँको ४ लाख २४ हजार ५१० किलोलिटर डिजेल आयात भएके थियो ।
उक्त अवधिमा पेट्रोलको पनि परिमाण बढेको छ भने आयात मूल्य घटेको छ । गत आर्थिक वर्षको मंसिरसम्ममा २८ अर्ब ५९ करोड रुपैयाँ बराबर रकममा २ लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल आयात भएको थियो । २०८०/८१ को मंसिरसम्ममा २८ अर्ब ५५ करोड रुपैयाँमा २ लाख ८१ हजार ९७० किलोलिटर आयात भएको छ ।
त्यस्तै, एलपीजी ग्यासको पनि आयात परिमाण बढ्दा पनि आयात मूल्य घटेको छ । चालु आर्थिक वर्षको ५ महिनामा २१ करोड ४२ लाख ९० हजार किलोग्राम ग्यास २० अर्ब ६५ करोड रुपैयाँ बराबर रकममा आयात भएको छ । गत आर्थिक वर्ष २३ अर्ब ७५ करोड रुपैयाँमा २० करोड ६३ लाख ९४ हजार किलोग्राम ग्यास आयात भएको थियो ।
पेट्रोलियम पदार्थको आयात रकममा कमी आएतापनि आयात बापतको राजस्व भने ६ प्रतिशतले बढेको छ । २०८०/८१ को मंसिर महिनासम्ममा ४० अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ९३ करोड रुपैयाँ थियो ।



