काठमाडौं । नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका–६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि सञ्चालनमा आएको हो ।
यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित थियो ।
नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन् । नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको थापाले बताए । जिपलाइन बनाउन १५ करोड रूपैयाँभन्दा बढी खर्च भएको उनले बताए ।
उद्घाटनमा पुगेका पर्यटनमन्त्री सुदन किरातीले नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने बताए । उद्घाटनपछि मन्त्री किरातीले पनि जिपलाइन खेलेका थिए ।



