images
images

भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रतिउडान ५ लाख दिइने


  • 592
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रतिउडान ५ लाख दिइने

    बुटबल । सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख  पुरस्कार दिने तयारी गरेको छ । यसबारे कार्यविधि भने बनिसकेको छैन ।  

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रूपैयाँ प्रोत्साहन पुरस्कार दिने गरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिएका हुन् । नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात् मन्त्री किरातीले उक्त कुरा जानकारी गराएका हुन् । 

    उनले भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी सरकार लागिरहेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रूपैयाँ दिने तयारी गरेको बताए । मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए ।

    उनले भने, ‘हामीसँग अहिले जहाज कम छन्, अहिले जम्मा चार वटा मात्रै जहाज रहेकाले पनि केही समस्या भएको छ तर, भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान नगरी हुँदैन । पर्यटन व्यवसायीको सकारात्मक सहयोगले सरकारलाई काम गर्न सहयोग मिल्ने मन्त्री किरातीले बताए । मन्त्री किरातीले ४३ अर्ब बढी राज्यको लगानी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर निजी क्षेत्रले ७० अर्ब बढी लगानी गरेको भन्दै त्यसप्रति आफू चिन्तित रहेको बताए । 

    मन्त्री किरातीले आफू भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै सरकारी व्यवस्थापनमा केही समस्या आइहाले पनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि विमान संचालन गर्ने बताए । सरकारी व्यवस्थापनमा केही समस्या भएपनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि चलाउँछौँ, हामी जसरी पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा छौं,’ उनले भने । 

    मन्त्री किरातीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिको संयोजक सञ्जिब जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेका थिए । नाट्टा लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्न सबैभन्दा पहिले नेपाल वायुसेवा निगमको जहाजले उडानलाई नियमित गर्नुपर्ने बताएका थिए ।

    ‘नेपाल वायुसेवा निगमको जहाजलाई भैरहवा–दिल्ली, भैरहवा–काठमाडौं नियमित उडान सुरू गराउनुस् जहाजका सिट भरेर हामी पठाइदिन्छौं,’ अधिकारीले भने । त्यसअघि नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आइतबार नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतिलाई समेत नेपाल वायुसेवा निगमको जहाजबाट नियमित उडान सुरू गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।


    images
    images

    Logo