images
images

माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा


  • 309
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा
     
    किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो  अरुण आयोजना प्रभावित क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । 
     
    आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि २ अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। 
     
    आयोजना प्रभावित क्षेत्रका ३ सय १९ घरमध्ये २ सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन् ।
     
    उत्तर–दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख  
     रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब २६ करोड रुपैयाँ छ । सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरु हुनेछ । काम सुरु भएको छ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । 
     
    पहुँचमार्ग निर्माण सुरु
     
    आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ । 
     
    पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ । पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमाफेदीसम्मको पहुँचमार्ग निर्माण गर्नेछ । 

     


    images
    images

    Logo