काठमाडौं । अस्थायी आवासको लागि सरकारले ५० हजार एकमुष्ट नदिने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले दुई किस्ता गरेर प्रभावितले रकम पाउने बताइन् ।
उनले भनिन्, ‘५० हजार एकै किस्तामा दिए हुन्थ्यो भन्ने माग पनि छ । त्यसबारे क्याबिनेटमा छलफल पनि भएको थियो । हामीले पनि एकैपटक गरौं भन्ने सुझाव राखेका थियौं । तर, गृहले कामको सुरुआत गरेपछि वडाको सिफारिसमा दिने भनेपछि झण्झटिलो प्रक्रिया पनि छैन। सिडिओ कार्यालयसम्म पनि आउनु पर्दैन ।
उनले यहाँबाट ५० हजारका दरले अस्थायी आवास निर्माणको लागि रकम गइसकेको बताइन् ।
उनले भनिन्, यहाँबाट रकम गइसकेको छ । तर, त्यहाँको स्थानीय पालिका र वडाहरुले पीडितहरुको वर्गीकरण गर्ने, छनोट गर्ने काममा थोरै ढिलाई भएको हो । पहिलो किस्ता लिएर काम थालेको दुई तीनदिनमा वडाकै सिफारिसमा वडाबाट नै पैसा लिन सक्ने भएकाले समस्या हुँदैन ।



