images
images

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट


  • 272
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

    काठमाडौं । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ ।

    हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत २ करोड ५३ लाख ५० हजार रुपैयाँ रकम निकासा भएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका १ हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो । 

    प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले उक्त रकम लाभग्राहीको हातमै पुगिसकेको जानकारी दिए । कार्यविधि संशोधन गर्दै सरकारले बैंक खातामा दिनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी हातमै दिन सकिने गरी कार्यविधि बनाएको थियो ।

    सोही आधारमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका पहिचान भएका ६४ घरपरिवार (लाभग्राही)का लागि १६ लाख रुपैयाँ, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ५ सय लाभग्राहीका लागि १ करोड २५ लाख रुपैयाँ र रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका ४ सय ५० लाभग्राहीका लाग १ करोड १२ लाख ५० हजार रुपैयाँ रकम निकासा भएको प्रवक्ता खड्काले जानकारी दिए । 

    बाजुरा जिल्लाको पाँच स्थानीय तहबाट १ हजार ३ सय ६१ लाभग्राही कायम गरी जिल्लाबाट रकम निकासाको माग भइआएका र उनीहरूका लागि पनि छिट्टै रकम निकासा हुने उनले बताए । 

    सरकारले चिसोको समयमा छिटो लाभग्राहीको अस्थायी घर निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार रकम निकासा तीव्र पारिएको जनाएको छ । लाभग्राही निश्चित भएर रकम माग हुनेबित्तिकै अन्य क्षेत्रका लाभग्राहीका लागि पनि अस्थायी आवास निर्माणबापतको पहिलो किस्ताको रकम निकासा हुने पनि उनले बताए । पहिलो किस्ताबापत प्रतिलाभग्राहीले २५ हजार रुपैयाँ पाउनेछन् ।


    images
    images

    Logo