काठमाडौं । नाडा अटोमावाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी सरगर्मी बढेको छ । नाडाले निर्वाचनको मिति घोषणा गरेसँगै नाडाको नेतृत्व चाहने दुई वटा समुहले आ–आफ्नो तयारीमा जुटेको हो ।
नाडाको बर्तमान कार्यसमितिले नाडाको निर्वाचनसहितको ४७ औं वार्षिक साधारणसभा आगामी पुस २० र २१ गते गर्ने भएको छ । नाडा विधान अनुसार अध्यक्ष र १७ जना सदस्य पदमा निर्वाचन हुनेछन् । हालसम्म अध्यक्षमा गोल्छा ग्रुप र चौधरी ग्रप एक आपसमा आमनेसामने हुने भएका छन् । जसमा गोल्छा ग्रुपबाट आकाश गोल्छा र चौधरी ग्रुपबाट करण चौधरीले आफ्नो उम्मेदवारी दिने भएका छन् ।
यसका साथै आकाश गोल्छा र करण चौधरीले प्यानल नै बनाएर चुनाव लड्ने तयारी गरिरहेका छन् । गोल्छाले पूर्व अध्यक्षहरुको समर्थनमा हालसम्म १० जनाको टिम बनाइसकेका छन् । बाँकी ७ जना भने बाँकी रहेका छन् । गोल्छाको समूहबाट निराकार श्रेष्ठ, सुनिल रिजाल, बिक्रम सिंघानिया, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, रिद्धि कार्की, सगुन वीर सिंह, प्रकाश सिग्देल, सोहन श्रेष्ठ र मेघराज पौडेल रहेका जनाइएको छ ।
करण चौधरीले पनि हालसम्म आफूसहित ९ जनाको नाम टुङ्गो लगाइसकेका छन् । चौधरीको टिममा राजनबाबु श्रेष्ठ, सुरेश उप्रेती, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नारायण पौडेल, नवराज भुसाल, निलमणी पाठक र अभिक ज्योतिको नाम टुङ्गिसकेको बताइएको छ ।
यसमा हालका अध्यक्ष ध्रुब थापाले आकाश गोल्छालाई सघाउने बुझिएको छ ।यसबाहेक, पूर्व अध्यक्षहरुमा निर्णायक मानिने शेखर गोल्छा र अन्जन श्रेष्ठले आकाश गोल्छालाई समर्थन रहने देखिन्छ । साइमेक्स इंक (बीवाईडी)बाट यमुना श्रेष्ठ पनि गोल्छा समूहबाटै चुनाव लड्ने पक्का भएकाले यो ग्रुपको समर्थन पनि उनैलाई नै रहेन जनाइएको छ ।
उता करण चौधरीलाई टाटा मोर्टर्स (सिप्रदी)ले चौधरीलाई समर्थन गर्ने भएका छन् भने , आईएमई ग्रुप र ज्योति ग्रुपले पनि चौधरीलाई समर्थन गर्न लागेको बताइएको छ ।
नाडाका अध्यक्ष थापाले भने सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन होस् भन्ने पक्षमा आफू रहेको बताउँदै आएका छन् ।



