images
images

नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह


  • 251
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसंग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसासंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् । 

    नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरेका हुन् । आइकोसाकाका अध्यक्ष डा. कुरोसे नावुहिरो सहितको प्रतिनिधीमण्डलसंग अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबीच आर्थिक र कुटनीतिक तवरले उच्चस्तरीय सम्वन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो । जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि म आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहल समेत गर्नेछौं, ।’

    नेपालमा अन्तराष्ट्रिय लगानीका लागि लगानी बोर्ड मार्फत कानूनी सुनिश्चितता भईरहेको अध्यक्ष मल्लले जानकारी समेत गराए ।

    नेपालमा लगानीको सुनिश्चिततासंगै श्रमशक्ती पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । अध्यक्ष मल्लले जापानी प्रविधी भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए । 

    चेम्बर पदाधिकारीसंगको भेटमा आईकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सवैभन्दा बढी प्रभावित भएको उनको भनाई छ । नेपालमा जलविद्युत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसंग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए । उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसंग प्रस्ताव गर्ने आश्वासन समेत दिए । 


    images
    images

    Logo