images
images

अढाई अर्बको चिया र सवा अर्बको अलैंची निर्यात, अदुवा र अम्रिसोको माग पनि उच्च


  • 369
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    अढाई अर्बको चिया र सवा अर्बको अलैंची निर्यात, अदुवा र अम्रिसोको माग पनि उच्च

    झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा २ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको ४ हजार ३ सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।

    झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । 

    प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आर्थिक बर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा १ अर्ब २० करोड ८० लाख रुपैयाँ मूल्य बराबरको १ हजार ५ सय १० मेट्रिक टन अलैँची भारत निर्यात भएको थियो ।

    पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती हुँदै आएको छ । औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ । आर्थिक बर्ष २०८०/८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको १हजार ७ सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ । 

    निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ । अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ । 

    चालू आर्थिक बर्षको त्रैमासिक अवधिमा २९ करोड ४० हजार रुपैयाँ मूल्य बराबरको २ हजार ४ सय १७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिए । अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती हुन्छ । फूललाई छिप्पिएपछि थुतेर कुचोका रुपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।

    पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रुपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा ७४ करोड १८ लाख १९ हजार रुपैयाँ मूल्य बराबरको २२ हजार ६ सय ७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ । सोही अवधिमा १७ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ ।

    नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दालसमेत रहेको छ । सोही अवधिमा ८ करोड ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरको ५ सय ८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo