images
images

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने


  • 407
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने

    काठमाडौं । सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए । 

    महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि खोप माग गरेको थियो । “हामीले माग गरिएको प्रस्तावलाई गाभीले स्वीकार गरेको कुरा हामीलाई प्राविधिकरुपमा जानकारी आएको छ”, उनले भने, “अब बस्ने गाभीको बोर्ड बैठकले हामीलाई खोप उपलब्ध गराउने छ ।”

    गाभीसँग सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि १७ लाख मात्रा ‘एचपिभी’ खोप माग गर्दै प्रस्ताव पेस गरेको थियो । खोप आएपछि अभियानका सञ्चालन गरेर किशोरीलाई खोप लगाइनेछ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाएको थियो । 
     
    महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपिभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए। 

    उनका अनुसार खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइनेछ । उक्त उमेर समूहका किशोरी १६ लाख ५० हजार रहेका छन् । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्कमध्ये दुई हजार २ सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो । 
     
    उनले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए । यसअघि सरकारले चितवन र कास्कीमा सन् २०१६/०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा सञ्चालन गरेको थियो । उहाँले भदौमा गरिएको खोप अभियानमा खोप लगाउनमा किशोरीमा उत्साह पाइएकाले अब समुदायस्तरमा गएर एचपिभी खोप लगाउने बताए । 

    क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताए । उनका अनुसार असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ । विश्वस्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । 


    images
    images

    Logo