काठमाडौं । काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।
जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले बाटो पार गरिसक्नुपर्ने बताए । उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए ।
उनले भने, ‘काठमाण्डौ महानगरपालिकाद्वारा आम नागरिकका लागि ट्राफिक लाइट राखिएको हो । त्यो थिचेपछि ५ सेकेण्ड कुुर्नुपर्छ, त्यो कुरेपछि पैदलयात्रुका लागि हरियो बत्ती बल्छ। ३० देखि ३५ सेकेण्ड तोकिएको समयमा सडक पार गरिसक्नुपर्छ । यो उपयुक्त छ तर यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ।’



