images
images

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात


  • 317
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

    काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँ मूल्यबराबरको २३ हजार ९ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

    सोही अवधिमा नेपालबाट ९ करोड ६५ लाख ७२ हजार ८ सय मूल्य बराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आर्थिक बर्षको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार २ सय रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

    नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी ९ करोड ५४ लाख ७२ हजार रुपैयाँ मूल्यबराबरको ५ हजार ९ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए।

    यसैगरी तरकारीमा गोलभेँडा ५ लाख १२ हजार रुपैयाँ मूल्यबराबरको २६ मेट्रिक टन र ५ लाख ८९ हजार रुपैयाँ मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

    १९ करोड बढीको गोलभेँडा आयात

    चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै १९ करोड ३७ लाख ४० हजार रुपैयाँ मूल्यबराबरको ९ हजार ६ सय ८७ मेट्रिक टन आयात भएको छ ।

    सोही अवधिमा भारतबाट २ करोड ७ लाख ८० हजार रुपैयाँ मूल्यबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र ३ करोड ७१ लाख ८० हजार रुपैयाँ मूल्यबराबरको १ हजार ८ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

    कोदो र आलुमा पनि भारतकै भर

    नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार रुपैयाँ मूल्यबराबरको ४ हजार ९ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

    सोही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको ४१ हजार ६ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महिनामा १ अर्ब ८६ करोड ६५ लाख ६३ हजार रुपैयाँ मूल्यबराबरको ३६ हजार ७ सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी उक्त अवधिमा २ करोड ५९ लाख ९२ हजार रुपैयाँ मूल्यबराबरको तीन सय ६१ मेट्रिक टन चना, ९ करोड २२ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको १ हजार ३६ मेट्रिक टन मुसुरो दाल, १२ करोड ८६ लाख रुपैयाँ मूल्यबराबरको १ हजार २ सय ८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार रुपैयाँ मूल्यबराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।

    पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल ५ अर्ब १० करोड ६० लाख ३१ हजार रुपैयाँ मूल्यबराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।

    सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोलगायतका कुल ५ अर्ब २७ करोड ३६ लाख २९ हजार रुपैयाँ मूल्यबराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए ।

     

     


    images
    images

    Logo