काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ६६ हजार नाघेको छ । कोषको शुक्रबारसम्मको तथ्यांक अनुसार हालसम्म ४ लाख ६६ हजार ६ सय २२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका हुन्।
सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराएको थियो ।सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार ४ सय ३९ पुगेको छ । यस अवधिमा कोषमा योगदानकर्ता भने ९ लाख २८ हजार ४ सय ५३ जना पुगेको कोषले जनाएको छ । यस अवधिमा कोषमा भएको योगदान रकम ४४ अर्ब ८५ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ ।
कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ५४ हजार ५ सय ९० श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ४६ हजार ६ सय ४८, मधेस प्रदेशबाट २३ हजार ६ सय ६६, गण्डकी प्रदेशबाट १७ हजार ६ सय ७८, लुम्बिनी प्रदेशबाट १५ हजार ८ सय ३०, सुदूरपश्चिम प्रदेशबाट १ हजार ९ सय ३० र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् ।
जसमा अहिलेसम्म कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी ७६ करोड १२ लाख रुपैयाँ भइसकेको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । आश्रित परिवार सुरक्षा दाबी रकम १० करोढ ९६ लाख पुगेको कोषको तथ्यांक छ । अवकाश दाबी रकम ५ अर्ब ४८ करोड ९७ लाख रहेको छ । यसरी ५ वर्षको अवधिमा ६ अर्ब ४४ करोड रुपैयाँ दावि भुक्तानी भएको छ ।



