काठमाडौं । उदयपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ३७ जना विद्यार्थी घाइते भएका छन् । उदयपुरको जलजलेस्थित अन्नपूर्ण बोर्डिङ स्कुलको ४० विद्यार्थी सवार बस दुर्घटनामा परेको हो । मत्यु हुनेमा चालक ४० बर्षिय भिखन चौधरी र विद्यार्थी ७ बर्षिया शन्ध्या चौधरी र ६ बर्षीय बिकास चौधरी रहेका छन् ।
शनिबार पिकनिक गएको विद्यालयको प्र १–०५–००१ ख ००४४ नं। को स्कुल बस मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको उदयपुरगढी–७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्ती सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा गम्भीर घाइते १२ जनालाई धरान र बिराटनगर रेफर गरिएको छ । अन्यको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै स्थानीय प्रहरी चौकी र जिल्लाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याएको थियो।



