images
images

अलैँचीखेतीको ‘हब’ बन्दै लमजुङ, २५१ मेट्रिक टन अलैँची बिक्रीबाट २४ करोड आम्दानी


  • 371
    SHARES
  • २०८० मंसिर ९ गते शनिबार

    अलैँचीखेतीको ‘हब’ बन्दै लमजुङ, २५१ मेट्रिक टन अलैँची बिक्रीबाट २४ करोड आम्दानी

    लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित २ सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । 

    आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए । यहाँ २०४१ साल बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो १ हजार २ सयका दरले अलैँची बिक्री भएको छ । 

    गत वर्ष ३ सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । आर्थिक बर्ष २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा ५ सय ५० रुपैयाँ देखि ७ सय रुपैयाँसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् । 

    आर्थिक बर्ष २०७८/७९ मा ३ सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि १३ करोड रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो ।  आर्थिक बर्ष २०७७/७८ मा ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो । उक्त वर्ष ९ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए । 

    आर्थिक बर्ष २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । त्यस्तै आर्थिक बर्ष २०७५/७६ मा ७ सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

    मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी  बढी आम्दानी गरेका छन् । २ सय ७५ किलो अलैँची दाना बिक्रीबाट ३ लाख ७१ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको उनले बताए । उनका अनुसार गत वर्ष साढे ३ क्विन्टल अलैँची दाना बिक्री गरेर करिब २ लाख रुपैयाँ मात्र आम्दानी गरेका थिए । 

    जिल्लाभरिका अधिकांश किसानले १ हजार २ सय रुपैयाँमा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले १ हजार ३ सय ५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ । तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलैँची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन् । जिल्लाका किसानले कुनैबेला प्रतिकिलो २ हजार २ सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थियो ।
     
    जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँची दानाको मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष भने केही राहत महसुस गरेका छन् । यस वर्ष अलैँची दानाको मूल्यवृद्धि हुँदा अलैँची किसान हर्षित भएका छन् । 

    जिल्लामा एक हजार हेक्टर बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलभन्दा कम क्षेत्रफलबाट उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।

    सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा ७ सय मिटरदेखि १ हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, १ हजार २ सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र १ हजार ६ सयदेखि २ हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । 

    जिल्लामा बढी उमेरका अलैँची, कृषकले १५÷१६ वर्षको बुढो उमेरका बोटबाट पाना च्यातेर सार्ने, बुढो बगान, स्याहारसुसारमा कमीलगायत कारणले बर्सेनि उत्पादन घट्दै गएको उक्त कार्यालयका कृषि अधिकृत मिजारले बताए ।


    images
    images

    Logo