काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ । कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको समुहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको जनाएको छ ।
प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार बल्खुमा अराजक शैलीमा प्रदर्शन गरेको थियो ।उक्त प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
तर, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
'सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ,' विज्ञप्तिमा भनिएको छ ।
संघीय राजधानी काठमाडौंमा बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा र एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का सहभागी र प्रहरीबीच झडपसमेत भएको थियो । सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र रबरका गोली प्रहार गरेको थियो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएका छन् ।



