भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाका छ वटा वडावासीले छिटै मेलम्चीको खानेपानी पाउने भएका छन् । नगरपालिका– ६ पाण्डु वजारमा रहेको ६० लाखको ट्याङ्की नजिकै आज सो योजनाको शिलान्यास गरिएको हो ।
योजना निर्माणका लागि नगरपालिकाले ८ करोड रुपैयाँ छुट्याएको छ । शुक्रवार बिहान सो आयोजनाको शिलान्यास बागमति प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापा, उप प्रमुख सरिता तिम्सिना भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधनगर्दै बाग्मती प्रदेश सभा सदस्य किरण थापाले खानेपानीको अभावका कारण काकाकुल अवस्थाका कारण रहेका एकदेखि छ नं वडाका स्थानीयलाई खानेपानीको व्यवस्था हुन लागेकोमा खुसी लागेको बताए ।
सो खानेपानी योजनाका लागि बाग्मति प्रदेश सरकारले ९५ लाख रूपैयाँ बिनियोजन गरेको बताउँदै थापाले थप १ करोड रूपैयाँ ल्याउन आफुले प्रयास गरिराखेको जानकारी दिए । अन्य खानेपानीको अभाव भएका नगर क्षेत्रमा समेत प्रदेश सरकार मार्फत काम अघि बढेको थापाको भनाई थियो ।
शिलान्यस कार्यक्रममा बोल्दै नगर प्रमुख बाशुदेव थापाले नगरपालिकाको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको खानेपानीको समस्या निराकरण गर्न आफुहरुले चालु वर्षको वजेटमा सबै भन्दा बढी वजेट बिनियोजन गरेको बताए । खानेपानी संगै नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको नगर प्रमुख थापको भनाई थियो ।
यसअघि सुर्यविनायक नगरपालिकामा पानी ट्याङ्की निर्माण गरेर अन्य नगरपालिकावासीलाई मात्र खानेपानी ख्वाउदै आएको मेलन्ची खानेपानीमा आफुहरुले लडेर छ वटा वडामा योजना पार्न सफल भएको नगर प्रमुख थापाको भनाई थियो। अन्य नगरपालिका भन्दा सुर्यविनायक नगरपालिका प्रिथक रहेको बताउँदै थापाले यहाँका सबै जनप्रतिनिधि पार्टी भन्दा माथि उठेर बिकास निर्माणमा लागि परेको दावी गरे ।

सिलान्यास कार्यक्रममा बोल्दै नगर उप प्रमुख सरिता तिम्सिना भट्टराई मेलम्ची खानेपानी बिस्तारका लागि पाइप अन्य श्रोतबाट पनि पानी खोजेर स्थानीयलाई सुविधा दिन नगरपालिका लागि परेको बताउँदै मेलन्चीको पानी २०८१ भित्रमा घर घरमा पुग्ने जानकारी दिइन ।
प्राबिधिक पक्षमा जानकारी दिदै परामर्शदाता पारश महतले ग्लोवल वार्मिङ्गका कारण काठमाडौं उपत्यकामा सतहको पानी सुकिसकेको बताउँदै पाँच सात स्थानमा बोरिङ गर्दा पनि पानी नआएपछि मेलन्चीको पानीका लागि पहल भएको बताए।
नगरपालिकाका इन्जिनीयर जनक न्यौपानेका अनुसार, योजना मार्फत नगरका १ देखि ६ नं वडासम्मका बासिन्दालाई चार इन्चको पाइप राखेर खानेपानी ख्वाउने लक्ष्य रहेको छ। सो योजनाबाट दैनिक दैनिक २० लाख लिटर पानी स्थानीयवासीले पाउँने नगरपालिकाका प्रबक्ता रबिन्द्र सापकोटाले बताए ।




