images
images

अन्नपूर्णको फेरोमा बढे पर्यटक, ६ महिनामा ७५ हजारले गरे भ्रमण


  • 539
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    अन्नपूर्णको फेरोमा बढे पर्यटक, ६ महिनामा ७५ हजारले गरे भ्रमण

    गण्डकी । गत वर्षको पहिलो छ महिनामा ७५ हजार ७ सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार ३ सय दुईले कम हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म १ लाख १ हजार १ सय २५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् ।

    अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको आयोजनाका प्रमुख डा रबिन कडरियाले बताए। “कोभिड–१९को महामारीताका सुस्ताएको यहाँको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ”, उनले भने, “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।”

    अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको प्रमुख डा कडरियाले बताए ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको उहाँले उल्लेख गर्नुभयो । “आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य छ”, प्रमुख डा कडरियाले भने, “नेपालीहरु घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेषगरी युवाहरुमा घुम्ने क्रेज बढ्दो छ ।”

    उनका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । कात्तिक महिना लागेपछि १९ गते भित्रमा मात्र १८ हजार २ सय ९५ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो छ महिनामा सबैभन्दा बढी वैशाखमा ३१ हजार ९ सय ५१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । गत महिना २८ हजार ७ सय ५ विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

    सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटक सो क्षेत्रमा पुगेका थिए । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

    हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुग्नाले यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भुत रहेको बताएका थिए ।

    अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा राखेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिकरूपले सुन्दर, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।

    “कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ”, उनले भने, “आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।”

    मुख्य पर्यटकीय याम (असोज–कात्तिक) र (चैत–वैशाख) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको पथप्रदर्शक गुरुङले बताए । रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट रहेको दसैँलगत्तै मर्दी आधार शिविर पुगेर फर्कुनुभएकी पोखरा महानगरपालिका–२९ की आरजु खत्रीले उल्लेख गर्नुुभयो ।

    “कास्कीको काँडे, अष्ट्रेलियन क्याम्प, देउराली, हाई क्याम्प हुँदै आधार शिविर पुगेर तेस्रो दिनमा घर फर्कियौँ”, उनले भने, “हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।”

    सूचना प्रविधि विषयमा अध्ययनरत उनले दसैँको बिदा छोपेर साथीसँग पदयात्रामा निस्केको बताए । खत्रीले मर्दी आधार शिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाए । “मर्दीमा धेरै आन्तरिक पर्यटक नै थिए, विशेषगरी युवाहरु बढी देखिन्थे”, उनले भने ।

    जोमसोमस्थित ‘एक्याप’को इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले गत साउनदेखि असोजसम्ममा १५ हजार ३ सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेकामासार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरका मुलुकका २ हजार २ सय ३० पर्यटक रहेको उहाँले बताए ।

    “मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीय नागरिकको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शनका लागि भ्रमणका लागि आउँछन्”, प्रमुख रेग्मीले भने, “दसैँपछि मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल पनि ह्वात्तै बढेको छ ।”


    images
    images

    Logo