काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याए ।
“देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मका सोचको खाँचो छ”, अर्थमन्त्री डा महतले भने, “सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन, त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको अवस्थामा आत्मविश्वास बढाउनुपर्ने अपरिहार्यता छ ।”
उनले विभिन्न चुनौतीबीच लयमा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै त्यसलाई आमनागरिकको पहुँचमा पुर्याइनुपर्ने खाँचो औँल्याए । उनले भने, “विश्वव्यापीरुपमा सिर्जित विभिन्न सङ्कट र मन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेकाले अर्थतन्त्रमा देखिएको चुनौतीको समाधान गर्न समय लाग्छ । नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको, घरजग्गा कारोबार पनि बढेको र विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले यसबाट आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ ।”
अर्थमन्त्री डा महतले विश्व बैंक, एशियाली बैंकलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रनेमा विश्वास व्यक्त गरे । उनले सहज ढङ्गबाट लगानी प्रवद्र्धन गरी अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको नीति रहेको स्पष्ट पारे ।
नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिए ।
अर्थतन्त्रका सबै सूचक सकारात्मक: गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताए । उनले विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सकारात्मक रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गरे । उनले भने, “फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ ।”
उनले राजस्व पनि सुधारको दिशामा रहेको, आन्तरिक ऋण उठिरहेको, बैंक तथा वित्तीय संस्थामा निक्षेत्र पर्याप्तमात्रामा रहेको तथा पर्यटक पनि उल्लेख्य सङ्ख्यामा वृद्धि भएकाले आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।



