काठमाडौं । चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एशिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण गरेको हो ।
आयातमा लगाइएको प्रतिबन्ध हटेको र मौद्रिक नीति खुकुलो बन्दै गएका कारण यस आर्थिक वर्षमा नेपालको आर्थिक स्थितिले सुधारिने अनुमान विश्व बैंकको रहेको छ । त्यस्तै, पर्यटन उद्योगहरुसमेत फस्टाउँदै गएका कारण नेपालको अर्थतन्त्र यस आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुँदै सन्तोषजनक प्रगति गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ ।
चालु आर्थिक वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ । तर विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर सोे प्रक्षेपणको भन्दा कम हुने जनाइएको छ ।
मनसुनको अनिश्चितताले हुनसक्ने कृषि उ्रत्पादनमा कमी, भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध लगायतले मुद्रास्फीति उच्च हुनसक्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ । तर विश्व बैंकले भने यस वर्ष नेपालमा महंगी ७.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
आगामी आर्थिक वर्ष भने नेपालको अर्थतन्त्रमा उल्लेख्य प्रगति हुँदै ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।



