काठमाडौं । विश्वभर अहिले इलेक्ट्रिक सवारीको बजार तीव्र रुपमा बढिरहेको छ । शुन्य कार्बन उत्सर्जन गर्ने भएकोले अन्तराष्ट्रिय रुपमै यसलाई बढाउन पहल गरिएको छ भने दैनिक इन्धन खर्चमा बचत हुने भएकोले उपभोक्तामा समेत यस्तो सवारीप्रतिको आकर्षण बढ्दै छ ।
तर, सवारी साधनको मूल्यका कारण अहिले पनि इलेक्ट्रिक सवारी किन्न उपभोक्ता पछि हट्नुपर्ने अवस्था छ । तर, अबको केही वर्षमै यो अवस्था अन्त्य हुने विभिन्न अध्ययनले देखाएका छन् ।
बेलायतस्थित यूनिभर्सिटी अफ एक्सेटरले गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त विश्वविद्यालयले सार्वजनिक गरेको ‘इकोनोमिक्स अफ इनर्जी इनोभेसन एन्ड सिस्टम ट्रान्जिसन’ नामक प्रतिवेदनले अबको ४ वर्षभित्र विश्वका सबैजसो देशमा इलेक्ट्रिक सवारीको मूल्य पेट्रल तथा डिजेल सवारीको भन्दा सस्तो हुनेछ ।
यो अवस्था युरोपमा सन् २०२४ भित्रै देखिनेछ । त्यस्तै, चीनमा २०२५, अमेरिकामा २०२६ र भारतमा २०२७ सम्ममा विद्युतीय कारको मूल्य पेट्रोल–डिजेल कारको भन्दा सस्तो भइसक्ने अनुमान गरिएको छ ।
उक्त प्रतिवेदन ब्रिटेनको यूनिभर्सिटी अफ एक्सेटरको एक विशेष परियोजना हो । विश्वविद्यालयकी प्राध्यापक मेई मेई एलिन लाम भारतमा ईभीको हिस्सा एक वर्षमा ०.४% बाट बढेर १.५ प्रतिशत हिस्सा पुगेको बताइन् । सोही उपलब्धि हासिल गर्न बाँकी विश्वलाई ३ वर्ष लागेको उनले बताइन् । ‘२०३० सम्ममा ब्याट्रीको लागत घट्छ र विश्वभरका पेट्रोलियम गाडीहरू भन्दा ईभी सस्तो हुनेछ’, उनले भनिन् । यो रफ्तारको कारण नेपालको सबैभन्दा ठूलो आयातकर्ता मुलुकमा समेत यो अवस्था आउने देखिन्छ । सबैभन्दा धेरै जनसंख्या भएका भारत तथा चीन तथा समृद्ध मानिएका अमेरिका तथा युरोपको यो ट्रेन्डले विश्व बजारमा ईभीको उपयोग तथा बजारमूल्यको अवस्थाको नेतृत्व गर्ने रिपोर्टमा उल्लेख छ ।
त्यस्तै, अर्को एक रिपोर्टले अबको ७ वर्षभित्र विश्व बजारमा ईभीले दुई तिहाई हिस्सा ओगट्ने जनाएको छ । अमेरिकाको रकी माउन्टेन इन्स्टिच्युट (आरएमआई) र बेजोस अर्थ फण्डको उक्त रिपोर्टले यस्तो देखाएको हो । रिपोर्टले सन् २०१७ सम्म पेट्रोल–डिजेल कारको बिक्री उच्च रहेको भन्दै अबको एक वर्षपछि नै ती कारहरु बिक्री वा स्क्र्याप गर्ने कार्य सुरु हुनेछ ।
२०३० सम्ममा विश्व अटो बजारमा हुनेछन् ४ परिवर्तन
१. बजार हिस्साः विश्वमा ईभीको बिक्री ६ गुणा बढ्नेछ । नयाँ गाडीको बिक्रीमा ईभीको हिस्सा ६२ देखि ८६ प्रतिशतसम्म हुनेछ ।
२. तेलको मागः २०१९ मा कच्चा तेलको विश्वव्यापी माग उच्च थियो । २०३० पछि उक्त मागमा वार्षिक १ मिलियन ब्यारेल सम्मको कमी आउनेछ ।
३. ब्याट्री लागतः २०३० को दशकमा प्रति किलोवाट घण्टामा १५१ डलरबाट ६०–९० डलर घट्नेछ ।
४. व्यापारिक सवारी साधनः ई–कारको बढ्दो बिक्रीले दुईपाङ्ग्रे, बस, ट्रक जस्ता सवारी साधनहरूमा विद्युतीकरणलाई बढावा दिनेछ ।
ईभीमा चीन सबैभन्दा अगाडी
चीनले सन् २०३० सम्ममा ९० प्रतिशत ईभी बिक्री गर्ने लक्ष्य लिएको छ । अहिले नै पनि चीनमा बिक्री हुने नयाँ गाडीमध्ये करिब एक तिहाइ विद्युतीय सवारीसाधन छन् ।



