काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा ५१ वटा विदेशी कम्पनीहरुले नेपालमा लगानी गर्न स्वीकृति पाएका छन् । उद्योग विभागले सार्वजनिक गरको वैदेशिक लगानी प्रतिवद्धताको भदौ महिनाको विवरण अनुसार २ अर्ब ७२ करोडको लगानी प्रतिवद्धता सहित ५१ कम्पनीले नयाँ क्षेत्रमा लगानीका लागि स्वीकृति पाएका हुन् ।
चालु आर्थिक वर्षको भदौसम्ममा १११ कम्पनीले १४ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता गरेका छन् । त्यससँगै हालसम्म नेपालमा नयाँ लगानी गर्न अनुमति लिने विदेशी कम्पनीको संख्या ५ हजार ९७० पुगेको छ । हालसम्म ४ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता प्राप्त भएको विवरणमा जनाइएको छ ।
भदौ महिनामा ११ कम्पनीले नेपालमा रहीरहेका कम्पनीमा लगानीका लागि स्वीकृति पाएका छन् । त्यसका लागि ३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानीका लागि प्रतिवद्धता गरिएको विभागले जनाएको छ ।
त्यस्तै, प्रविधि हस्तान्तरणका लागि २ कम्पनीले स्वीकृति लिएका छन् । त्यससँगै चालु आर्थिक वर्षमा उक्त विषयमार्फत् नेपालमा लगानी गर्ने कम्पनीको संख्या ८ पुगेको जनाइएको छ ।
नेपालबाट भदौ महिनामा १० करोड ६६ लाख रुपैयाँ रकम रोयल्टी तिर्दा बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको भदौमा उक्त रकम ७ करोड १५ लाख रुपैयाँ रहेको थियो । जुन यस भदौमा ३ करोड भन्दा धेरैले बढेको हो ।



