काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७ दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले १ खर्ब ३१ अर्ब १४ करोड १३ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ ।
सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म ७ दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ । यो शीर्षकमा रू तीन खर्ब २ अर्ब ७ करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा ८ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।
वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ । मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ बराबर छ । पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट ३५ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।
यहि अवधिको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ लाख रुपैयाँ बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बराबर राजस्व उठेको छ ।
कर राजस्व वार्षिक लक्ष्यको नौ दशमलव आठ प्रतिशत अर्थात १ खर्ब २७ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ र गैरकर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् १३ अर्ब १२ करोड रुपैयाँ बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन ।



