काठमाडौं । सम्पत्ति तथा घरबहाल कर संकलनमा आएको उछालले काठमाडौं महानगरपालिकाको आम्दानीमा ४५.०७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको तथ्यांक अनुसार महानगरपालिकाले ६५ करोड ४२ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त रकम ४५ करोड ९ लाख रुपैयाँ बराबर रहेको थियो ।
यो अवधिमा राजश्व संकलनको सबैभन्दा धेरै हिस्सा ओगट्ने घरबहाल करमा झण्डै ३८ प्रतिशत वृद्धि भएको छ । गतवर्ष साउनमा उक्त शीर्षकमा २२ करोड ७६ लाख रुपैयाँ संकलन भएकोमा यो वर्ष ३१ करोड ६० लाख रुपैयाँ रकम आम्दानी गरेको हो ।
त्यस्तै, सम्पत्ति करतर्फ १२ करोड ५८ लाख रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्ष यो शीर्षकमा ७ करोड ९ लाख रुपैयाँ मात्रै आम्दानी भएको थियो । यो अघिल्लो वर्षभन्दा ७७.४७ प्रतिशत बढी हो ।
व्यवसाय रजिस्ट्रेसन दस्तुरतर्फ पनि सामान्य वृद्धि भएको छ । यो शीर्षक अन्तर्गत पहिलो महिनामा नै ८ करोड १८ लाख रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्ष यो शीर्षकमा ६ करोड रुपैयाँ मात्रै संकलन भएको थियो ।
नक्सापास दस्तुरतर्फ अघिल्लो वर्ष साउनमा ५ करोड ३७ लाख रुपैयाँ रहेको आम्दानी यो वर्ष बढेर ६ करोड ९७ लाख पुगेको छ । अन्य सेवा शूल्क पनि १ करोड ४६ लाखबाट बढेर ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
महानगरले अन्य शीर्षकहरु, भुमिकर/मालपोत, पर्यटन शुल्क, पार्किङ शुल्क, सिफारिस शुल्क, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट पनि आम्दानी गरेको छ । यो अवधिमा पार्किङ शुल्कबाट मात्रै ४७ लाख रुपैयाँ संकलन गरेको महानगरपालिकाले जनाएको छ । दण्ड जरिवाना शीर्षकमा भने यो वर्ष राजश्व घटेको छ ।



