काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रिट खारेज भएको छ । योसँगै मेयर शाहले ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले हवाई सुरक्षाभित्र पर्ने विषयमा महानगरले धावा बोलेको भन्दै कारबाहीको निर्णय गरेका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधबार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर बालेन शाहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यान्वयनको बाटो खुलाएको हो ।
त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए ।
क्यानले बालेनलाई ५० हजार जरिवानासहितको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेपछि उनी असार ७ गते अदालत गएका थिए । अदालतले तत्काल स्पष्टिकरण नसोध्न अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश धिरवहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेश अब रिट खारेजीसँगै खारेज भएको छ । अब बालेनलाई र काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बाटो क्यानलाई खुलेको छ ।



