बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।
विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।
इञ्जिनियर चौहनले उद्योगले हालसम्मको २ अर्ब २४ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उनले भने, “त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।”
उद्योगसहित विद्युत् बक्यौता नतिर्ने ९ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो ।
“कालोसूचीमा रहेका ५ जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ”, इञ्जिनियर चौहनले भने, “पाँच जनाबाट १ लाख २२ हजार ५ सय ९२ रुपैयाँ सङ्कलन गरिएको छ ।” उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ ।
प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उहाँले जनाए। विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले १ लाख ६६ हजार ९१ रुपैयाँ जरिवाना लिएको उनले जानकारी दिए ।



