काठमाडौं । पहिरोले अवरुद्ध भएको करिब १७ घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड पुनः सुचारु भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सी पुल नजिकै सोमबार राति करिब ८ः०० बजेतिर गएको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो ।
पहिरो गएपछि राती ८ बजेदेखि नै दुईतर्फी अवरुद्ध भएको सडक अहिले १२ : ५५ बजेदेखि करिब १७ घण्टापछि खुलेको हो । अहिले सडक दुइतर्फ नै खुलेको डिभिजन कार्यालयले जनाएको छ ।
पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम गरिएको हो। लामा प्रयासपछि अहिले दुइतर्फीनै सवारीसाधन सञ्चालनमा आएका छन”, उनले भने।
पहिरो हटाएसंगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका थिए । राजमार्गमा सवारीसाधनको लामो लाइन रहेकाले आफ्नो लेन प्रयोग गरेर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।



