काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
सोमबार संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको थियो । संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो ।
साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । उनीविरूद्ध तीनवटा उजुरी परेको थियोे । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मनु भएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।



