images
images

प्याजमा कालो बजारी : ५ व्यापारीलाई कारबाही, ४ जनाको अनुसन्धान चल्दै


  • 315
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    प्याजमा कालो बजारी : ५ व्यापारीलाई कारबाही, ४ जनाको अनुसन्धान चल्दै

    काठमाडौं ।  भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । 

    भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।

    विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उनले राससलाई जानकारी दिए ।

    “प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यापारीलाई जनही २० हजार, दुई वटा व्यापारीलाई जनही ५० हजारका दरले कारबाही गरिएको छ भने चार वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ”, महानिर्देशक ठाकुरले भने।

    काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० सम्म बढेर ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि आज कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० ले घटेको उनको भनाइ छ ।

    वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो । उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए ।

    भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।


    images
    images

    Logo