काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बालसुधार गृहबाट डेढ सय भन्दा बढी बालबालिका भागेका छन् । सोमबार सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् ।
हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् । त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेका छन् ।
सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।
शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो। बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।
त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् । । त्यहाँ विभिन्न अपराधमा संलग्न भएका तर १८ बर्ष नपुगेका बालबालिकालाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिएको छ ।



