काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ जना विभागीय प्रमुख हेरफेर गरेको छ । महानगरका अनुसार सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएका छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ ।
सूचना प्रविधि विभागबाट सरुवा भएर जानु भएका ढकालले, विभागमा ४२ महिना रहँदा प्राप्त गरेका उपलब्धीलाई २३ बुँदामा उल्लेख गरेका छन् । उनले विभागमा २०७७ माघ ६ गते पदबहाली गरेका थिए । २०८० भदौ ३ गते विभागबाट रमाना लिएर जाँदै गर्दा उनले कार्यकालमा उपलब्धी लेखेर निरन्तरताका लागि विभागमा छोडेका छन् ।
‘सुशासन, सेवाको पारदर्शिता र प्रविधिमा आधारित सेवा सञ्चालनको मुख्य जिम्मेवारी यही विभागमा छ । महानगरका सेवालाई प्रविधिमा आधारित बनाउने दायित्व यही विभागमा छ ।’ ढकालले भने, ‘विभागलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके मात्र उत्तरदायी, सरल, सहज र पारदर्शी सेवाको प्रत्याभूति गराउन सकिन्छ ।’
विभागअन्तर्गत सूचना सञ्चार र सञ्चार प्रविधिका लागि काम हुन्छन् ।
‘२ सय व्याण्डविथ क्षमताको इन्टरनेटलाई ६ सय व्याण्डविथ बनाइएको, इन्ट्रानेट सेवालाई निजी क्षेत्रबाट सरकारी इन्टरनेट सेवा प्रदायकबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको, डिजिटल सिग्नेचरसहितको डिजिटल नक्सापास सेवा प्रणाली अद्यावधिक गरिएको, कार्यालयका लागि आवश्यक सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवेयर पहिचान, प्राप्ति र व्यवस्थापन गर्न संघ सरकारसँग सहकार्य थालिएको छ ।’
यी काम मेरो कार्यकालका उपलब्धी हुन् । विदाइ कार्यक्रममा निर्देशक ढकालले भेन, ‘बाइसधारा तथा रत्नपार्कमा इटिकेटिङ् प्रणाली सञ्चालन भएको् छ । हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लागि इटिकेटिङ् प्रणाली विकास थालिएको छ । बसन्तपुरका मन्दिरहरुको परिचय दिन ६ भाषामा सामग्री भएको क्युआर कोड विकास भइसकेको छ । सामुदायिक विद्यालयका कर्मचारी र शिक्षकहरुको बायोमेट्रिक हाजिरी प्रणाली जडान गरिएको छ ।’
यस अवधिमा गरिएका कामहरुमा इबीपीएस प्रणाली अद्यावधिक गरेर डिजिटल सिग्नेचर कार्यान्वयनमा ल्याइएको छ । नेटवर्किङ् मनिटरिङ् सिस्टम विकास थालिएको छ । इन्टर्न सिस्टम एप्लिकेसन, दर्ता चलानीलाई अनलाइन प्रणाली बनाइएको छ । आन्तरिक लेखा परीक्षण सम्बन्धी सफ्टवेयर निर्माण गरिएको छ ।
डिजिटल गभर्नेन्स सेवाको सञ्चालनमा इन्टरनेट अवरोधका हुने बाधा हटाउन बैकल्पिक इन्टरनेट सेवा जडान गरिएको छ । विभागगत दैनिक कार्य प्रगति तयार गरेर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पठाउने गरिएको छ । यसै अवधिमा सञ्चार तथा सूचना ऐन २०८० जारी भयो । कल सेन्टरको स्थापना र सञ्चालन भयो । कल सेन्टर सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ जारी भयो ।
मेट्रो एफ एमको क्षमता अभिवृद्धि गरियो । रेडियोलाई भिडियो स्ट्रिमिङ् क्षमताको बनाइयो । अनलाइनबाट २४ घण्टा सेवा सञ्चालन प्रारम्भ गरियो ।
कार्यपालिका बैठक, नगर सभाका बैठक लगायत महत्वपूर्ण बैठक तथा कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण थालनी गरियो । सफ्टवेयरको गुणस्तर र सुरक्षाको प्रत्यभूतिको लागि पहिलो पटक भल्नाराविलिटी असिस्टमेन्ट एण्ड पेनेट्रेसन टेस्टिङ् (भीएपीटी) परीक्षण गरिएको छ ।



