काठमाडौं । भारतले ४० प्रतिशत निर्यात कर लाउने घोषणासँगै प्याजको भाउ प्रतिकिलो १७ रुपैयाँले बढेको छ । आइतबार ६१ रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ सोमबार ७८ रुपैयाँ पुगेको हो ।
आइतबार भारतले शनिबारदेखि लागु हुनेगरि प्याजको निर्यातमा थप ४० प्रतिशत कर लगाउने घोषणा गरेको थियो । उक्त निर्णयसँगै सोमबार नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको थोक मूल्य आकाशिएको हो ।
यसअघि सरकारले जेठ १५ गतेको बजेटमार्फत् प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएपछि प्याजको भाउ आकाशिएको थियो । अहिले नेपाली बजारमा प्याजको मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । नेपालमा उपभोग हुनेमध्ये करिब ६० प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ ।