काठमाडौं । गोलभेँडाको उत्पादन कम भएर अत्यधिक भाउ बढिरहेको बेला प्याजको भाउ फेरि आकाशिने भएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेसँगै प्याजको भाउ थप आकाशिने भएको हो ।
रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो । भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले शनिबारदेखि लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो ।
यसअघि सरकारले जेठ १५ गतेको बजेटमार्फत् प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएपछि प्याजको भाउ आकाशिएको थियो । अहिले नेपाली बजारमा प्याजको मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । नेपालमा उपभोग हुनेमध्ये करिब ६० प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ ।



