काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको २ दशमलव १ प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ बराबर छ ।
चालु आर्थिक वर्षमा सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ ९ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ, पूँजीगततर्फ ४ खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबर बजेट छुट्याइएको थियो ।
साउन मसान्तसम्ममा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको १ दशमलव २८ प्रतिशत र पूँजीगततर्फ ९० करोड ६१ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ० दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब ७ करोड ८१ लाख रुपैयाँ बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६.६७ प्रतिशत बराबर हो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५.३८ प्रतिशत र गैरकर राजस्वतर्फ ८ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ बराबर अर्थात् वार्षिक लक्ष्यको ७.४३ प्रतिशत बराबर सङ्कलन भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन ।



