काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७.७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।
गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो ।
अघिल्लो आवको तुलनामा आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२, मरमसलाको १२.५०, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७०, सुर्तीजन्य पदार्थको ९.८८ र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत छ ।
साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५०, मनोरञ्जन तथा संस्कृतिको १०.१८, स्वास्थ्यको १०.०१, शिक्षाको ८.७९ र घरायसी उपयोगका वस्तुको ८.६५ प्रतिशत छ ।
गत आर्थिक बर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशते छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशत थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत छ ।
गत आर्थिक बर्षमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आव उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो । गत असार महिनामा मात्र गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत देखिएको छ । जबकि, २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत थियो ।
गत आर्थिक बर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५५, तराईमा ८, पहाडमा ७.५६ र हिमालमा ७.१२ प्रतिशत छ । अघिल्लो आर्थिक बर्ष उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३, ६.४१, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत थियो ।



