काठमाडौं । जग्गाको कित्ताकाटका लागि सरकारले मापदण्ड तोकेको छ । बिहीबार राजपत्रमा भू–उपयोग नियमावली २०७९ को संशोधन प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रहीआएको मापदण्डलाई परिवर्तन गरेको हो ।
संशोधन गरिएको नियमावली अनुसार आवासीय र व्यापारिक प्रयोजनका लागि न्यूनतम ८० वर्गमिटर (२.५२ आना) सम्मको टुक्रा गर्न पाइनेछ । यसअघि १३० वर्गमिटर (४.०९ आना) भन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने नियम रहेको थियो ।
तर संशोधन गरि प्रकाशित गरिएको नियमावलीले स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्ड अनुसार जग्गा छोड्दा बाँकी रहेको ८० वर्गमिटर सम्मको जग्गाको कित्ताकाट गर्न सकिने व्यवस्था ल्याएको हो ।
त्यस्तै, सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम जग्गा विकास योजना समेतको जग्गा स्वीकृत गराई जग्गा विकास कार्यक्रम सञ्चालन हुने क्षेत्रको जग्गामा समेत सो नियम लागु गरिने व्यावस्था गरि नियमावलीमा संशोधन भएको छ ।
कित्ताकाट गरि कायम भएको नयाँ कित्तालाई प्लट मिलान गरिने कित्तामा एकीकरण गरि नयाँ कित्ता कायम गरिनुपर्ने उल्लेख गरिएको छ ।



