काठमाडौं । भोली काठमाडौंका विभिन्न स्थानमा ५ घण्टा विद्युत आपुर्ति बन्द हुने भएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली ५ घण्टासम्म अवरुद्ध हुने जनाएको हो ।
सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित) हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो ।
सीतापाइला अन्तर्गत बाफल, बुढाथोकी कोल्डस्टोर, सिविल होम्स,सरनपुर, थापाचोक, इचंगु लगायतका क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुनेछ। बाफल र बलम्बु अन्तर्गत स्वयम्भू, सानो भर्याङ, पुरानो नैकाप,गर्जुधारा लगायतका क्षेत्रमा पनि विद्युत आपूर्ति अवरुद्ध हुनेछ।
यस्तै, कालीमाटी, कलंकी खसीबजार, सुनार गाउँ, कुलेश्वर, कीर्तिपुर बजार, ट्याङ्लाफाँट, पांगा लगायतका क्षेत्रमा समेत विद्युत अवरुद्ध हुनेछ।
स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसावार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।
हाल लप्सीफेंदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइनलाई ३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ । सोही कारण टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।




