धनगढी । मातहतका कार्यालयहरूबाट रकम (घुस) असुली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्ट लाइ पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ । वन मन्त्रालयको व्यापक असहमतिका बिच मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो ।
वन मन्त्रालयले उनी भन्दा सिनियर उप–सचिव हेमराज विष्टलाई नियुक्त गर्न सिफारिस गरे पनि शक्ति केन्द्रको पावरमा मुख्यमन्त्री कार्यालयले फेरी भट्ट लाइ निर्देशक नियुक्त गरेको हो । यस अघिका निमित्त निर्देशक हेमराज विष्टको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । स्रोतका अनुसार यस्ता विवादमा पर्न नचाहने मुख्यमन्त्री कमल वहादुर शाहले पैसा लिएको भिडियो सार्वजनिक भएपछि भट्ट लाइ नियुक्त नगर्ने मनसाय राखेका थिए । तर भट्टले आफूलाई निर्देशक बनाउनका लागी डडेल्धुराका काँग्रेसी नेता मार्फत केन्द्रिय नेतृत्वलाई गुहार गरी पावर लगाएका थिए ।
मालदार कार्यालयमा आफ्नो सरुवा मिलाउन प्रदेश भन्दा केन्द्रिय नेताको चाकडी गर्न माहिर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीले पनि भट्टलाई नै नियुक्त गर्न जोडवल गरेपछि मुख्यमन्त्री शाह पनि भट्टलाई नियुक्त गर्न राजी देखिएका थिए । तर भट्टको नियुक्तिले वन क्षेत्रका अधिकृत हरू भने रुष्ट भएका छन् । वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेद कुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन् ।
वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको अडियो पनि सामाजिक सञ्जालमा भाइरल वनेको छ । उक्त अडियो सुनेपछि वन मन्त्री धामी सहित उनको सचिवालयका कर्मचारी झनै रुष्ट वनेका छन् । पहलमानपुर कार्यरत रहँदा वैज्ञानिक वनमा भएको अनियमितता बारे उनका नाममा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरिएको मुद्दा विचाराधीन छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने बित्तिकै भट्ट निलम्बनमा पर्ने छन् ।
पछिल्लो एक वर्ष निमित्त निर्देशक रहेका भट्टको ध्यान वन जोगाउने भन्दा पनि पैसा उठाउनमै केन्द्रित थियो भन्ने सार्वजनिक भिडियोले पनि पुष्टि गरेको छ । विगत डेढ वर्ष देखी वन निर्देशनालय धनगढीमा निमित्त वन निर्देशकका रुपमा कार्यरत भट्टले कार्यालयको काममा भन्दा आफ्नो निजी व्यापार व्यवसायमा ध्यान दिने गरेको, कार्यालयमा बिरलै मात्र आउने गरेको र कहिलेकाहीँ आइहालेपनि एक दुइ घण्टामै कार्यालय हाताबाट बाहिरिने गरेको त्यहाँ कार्यरत एक जना कर्मचारीले बताएका छन् । ती कर्मचारीले बताए अनुसार उनले विभिन्न मन्त्रालय वाट गरिब कृषकका लागी आएको करिब ४५ लाख अनुदान लिएर डडेलधुराको भद्रपुरमा आफन्तका नाममा बाख्रा फर्म र नर्सरी स्थापना गरेका छन् ।
कार्यालयको गाडी र चालक समेत लगेर हप्तौँसम्म बसी कार्यालयको सवारी साधन तथा चालकको समेत चरम दुरुपयोग गर्ने गरेको उनको भनाइ छ । आफ्नै काममा गएका वेला समेत भट्टले कार्यालयबाट सरकारी दैनिक भ्रमण भत्ता समेत खाने गरेको, पटक–पटक मादक पदार्थ सेवन गरी होहल्ला तथा गालीगलौज गर्ने गरेको भनी व्यापक जन गुनासो आउने गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा मुख्य मन्त्रीको कार्यालयलाई समेत जानकारी थियो ।
कार्यालयमा बदमासीको गर्ने कर्मचारी लाइ कारबाही गर्नुको सट्टा महत्त्वपूर्ण जिम्मेवारी दिँदा काम गर्ने इमानदार कर्मचारीको मनोबल घटने र सङ्गठन भताभङग हुने तर्फ सचेत रहन वन अधिकारीले जिम्मेवार निकायलाई आग्रह गरेका छन् ।
डिभिजन वन कार्यालय प्रमुखहरूको पनि सरुवा
यसैबिच डिभिजन वन कार्यालय प्रमुखहरूको पनि सरुवा गरिएको छ । डिभिजन वन कार्यालय कैलालीको प्रमुखमा राम चन्द्र कंडेल आएका छन भने पहलमानपुरमा राम विचारी ठाकुर लाइ खटाइएको छ । डडेल्धुरामा शम्भु प्रसाद तिवारी,कञ्चनपुरमा भीम प्रसाद कंडेल,डोटीमा गोकुल रीजाल,अछाममा जनक पाध्या र बझाङमा भरत भट्ट लाइ जिम्मेवारी दिइएको छ । त्यस्तै केशव पराजुलीको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कैलालीमा सरुवा भएको छ ।



