काठमाडौं । नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य कसैको पनि फोटो प्रयोग नगर्ने भएको छ । बिहीबार पार्टीका उपमहासचिव विष्णु रिमालले फेसबुकमा लेख्दै पार्टीले उक्त निर्णय गरेकोबारे बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार फेसबुकमा पोस्ट गर्दै कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाउने निर्णय गरिएकोबारे बताएका थिए ।
रिमालले त्यसैलाई उल्लेख गर्दै पार्टीले ल्याउन लागेका नियमहरुबारे बताएका हुन् । उनले निम्न निर्णयहरु गरिएको उल्लेख गरेका छन् ।
– कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने,
– मञ्चको प्रयोग वक्ताले मात्र गर्ने,
– अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने,
– कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,
– कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।
उनले बताएका नियमको पहिलो बुँदा, ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने’ को अर्थ सभाको ब्यानरमा पुष्पलाल श्रेष्ठ, मनमाेहन अधिकारी र मदन भण्डारीको फोटो समेत नराख्ने भन्ने बुझिन्छ ।



