काठमाडौं । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ ।
प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र र २७ करोड ५९ लाख ६४ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने १ हजार ७ सय ४८ जनाको विद्युत् लाइन काटिए पनि १ सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । १ सय ३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।
लाइन काटेपछि ४ करोड २६ लाख ७४ हजार रुपैयाँ असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार रुपैयाँ असुल गर्न बाँकी छ । धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० अमा एउटा ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ ।
धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन ।
आर्थिक बर्षमा विद्युत् चोरी गर्ने २ सय ९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट १४ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको उनले बताए । अघिल्लो आर्थिक बर्षमा १ सय २३ जनालाई विद्युत् चोरी अन्तर्गत कारबाही गरिएको थियो ।
गत आर्थिक बर्षमा ११ करोड २२ लाख ९१ हजार ६ सय ९ युनिट विद्युत् बिक्री गरी १ अर्ब २ करोड रुपैयाँ रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ ।



