काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा थप ४ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्। सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा लगिएको छ।
गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।
मंगलबार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो। सुरूमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा पछि सिआइबीले अनुसन्धान गरिरहेको छ।



