images
images

अर्काको नाममा खाता खोलेर कमिसन लिने प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा 


  • 399
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    अर्काको नाममा खाता खोलेर कमिसन लिने प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा 

    काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । अर्कै व्यक्तिको नाममा अवैध बैंक खाता खोली कमिसन असुल्दै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

    गाउँपालिकाले आव २०७७/०७८ मा सम्पन्न विभिन्न आयोजनाको भुक्तानी दिँदा कमिसनबापत १३ लाख ४५ हजार लिएको भन्दै सो रकम बराबरको बिगो कायम गरि अख्तियारले अर्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । 

    त्यस्तै, उनका छोरा पवनकुमार अर्याललाई समेत १३ लाख ४५ हजार, मर्चवारी– ३ का वडाध्यक्ष नारायणबहादुर यादवविरुद्ध ५ लाख, वडा सचिव गुलाव यादवविरुद्ध २ लाख, गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध ३ लाख ६० हजार तथा समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारीविरुद्ध ८५ हजार एवं मानसरोवर ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गरी आरोप पत्र दायर गरिएको छ ।

    सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ३, ६ र ७ मा गरिएका विभिन्न विकास निर्माणका कार्य तथा सिलाइ कटाइसहितका सीपमूलक तालिम कार्यक्रमको भुक्तानीका क्रममा कमिसन लिएको पाइएको अख्तियारले जनाएको छ ।

    त्यसका लागि उनीहरूले असम्बन्धित व्यक्तिका नाममा खाता खोलेर रकम असुल्दै आएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरीसहितको निवेदन आएको थियो ।

    उक्त उजुरीका सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रले छानबिन गरी फाइलसहित अख्तियारमा पठाएको थियो ।


    images
    images

    Logo