काठमाडौं । तस्करी गरेर भित्र्याइएको सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको छ । अन्तर्राष्ट्रिय मूल्यमा ५ प्रतिशत थपेर राष्ट्र बैंकले उक्त सुन किन्ने भएको हो ।
‘नेपाल सरकारले सुनको प्रक्रिया अघि बढाउँछ। प्रक्रिया पुगेपछि हामीले अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशतले थपेर यो सुन किन्छौं’, टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले भने । सुन गालिएसँगै अब गुणस्तर परीक्षण हुने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ । मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो ।
महाशाखाका निर्देशक आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको बताए ।



