images
images

सरकार र बैं‌कहरुको निक्षेपमा उतारचढाव, राष्ट्र बैंकको नाफा एकै महिना १४ अर्ब


  • 1.0K
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    सरकार र बैं‌कहरुको निक्षेपमा उतारचढाव, राष्ट्र बैंकको नाफा एकै महिना १४ अर्ब

    काठमाडौं । आर्थिक वर्षको अन्त्यमा मात्रै भुक्तानी गर्ने सरकारी प्रवृत्तिका कारण नेपाल राष्ट्र बैंकमा सरकार तथा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ठूलो उतारचढाव देखिएको छ । राष्ट्र बैंकका अनुसार असार महिनामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्ने निक्षेप ह्वात्तै बढेको छ भने सरकारी निक्षेप घटेको छ । 

    राष्ट्र बैंकको तथ्यांक अनुसार असार समान्तमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा २ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् । जेठ मसान्तमा यस्तो निक्षेप १ खर्ब ६४ अर्ब रुपैयाँ मात्रै थियो । असार महिनामा मात्रै यस्तो निक्षेप करिब ८५ अर्ब रुपैयाँले बढेको हो । 

    उता, सरकारी निक्षेप भने असार मसान्तमा २ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ । जेठ मसान्तमा यस्तो निक्षेप २ खर्ब ९० अर्ब रुपैयाँ थियो । एक महिनाको अवधिमा निक्षेपको आकार करिब ८२ अर्ब रुपैयाँले घटेको हो । 

    असारे विकासको प्रभाव

    सरकारले अन्तिम समयमा मात्रै आएर खर्चहरुको भुक्तानी दिने प्रवृत्तिका कारण यस्तो समस्या देखिएको हो । संघ, प्रदेश र स्थानीय तह गरी सबै प्रकारका सरकारले अन्तिम समयमा मात्रै ठूलो परिमाणमा चेक काट्दा असार मसान्तमा सरकारी खातामाट ठूलो रकम बाहिरिएको हो । त्यसैले यो महिना एकैपटक ८५ अर्बको सरकारी निक्षेप बाहिरिएको हो । 

    उता, सरकारले ठेकेदार, आपूर्तिकर्ता वा उपभोक्ता समितिलाई भुक्तानी गरेको रकम बैंक तथा वित्तीय संस्थाको खातामा जाने भएकोले यसको प्रभाव बैंकिङ निक्षेपमा परेको हो । बैंक तथा वित्तीय संस्थाले उपयोग हुन नसकेका निक्षेप राष्ट्र बैंकको खातामा राख्ने भएकोले राष्ट्र बैंकमा बैंकहरुको निक्षेप थुप्रिएको हो । 

    नोटको प्रयोग ११ अर्बले बढ्यो 

    राष्ट्र बैंकका अनुसार बजारमा एकै महिना ११ अर्ब रुपैयाँ बराबरको थप नोटको माग भएको छ । असार मसान्तसम्म बजारमा ६ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तमा यो आकार ६ खर्ब ५८ अर्ब रुपैयाँ थियो । 

    एक महिनाको यो अवधिमा नेपाल राष्ट्र बैंकले जगेडा कोष तथा बचतको आकारलाई १६ अर्बले बढाएर ३ खर्ब ५७ अर्ब रुपैयाँ पुर्याएको छ । 


    images
    images

    Logo