images
images

काठमाडौँ महानगरले खुला दूध बिक्री गर्न रोक लगाउने


  • 304
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    काठमाडौँ महानगरले खुला दूध बिक्री गर्न रोक लगाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ ।  

    काठमाडौँ महानगरपालिकाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने जनाएको हो ।  

    पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमितरूपमा अनुगमन गर्ने तयारी गरिरहेको काठमाडौँ महानगरपालिकाले विषेशगरी खुलारूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।  

    उनका अनुसार बर्खायाममा पानीसँगै फैलिने सङ्क्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल टोली परिचालित हुनेछ ।  

    “माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो सङ्क्रमण फैलिन्छ । यसको स्रोत मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्”, उनले भने, “अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानूनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

    त्यसैगरी पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत काठमाडौँ महानगरपालिकाको रहेको छ ।  

    चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाको समग्र स्वास्थ्य कार्यक्रमका लागि भने कूल ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।  

    स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।

    उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ । सुपरीवेक्षण समितिको कामको समन्वय एकाइले गर्छ । 


    images
    images

    Logo