images
images

सरकारको आलोचना र मन्त्रीहरुको राजिनामाको विषय प्रतिपक्षको बेमौसमी बाजामात्रै हो : मन्त्री ज्वाला


  • 296
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    सरकारको आलोचना र मन्त्रीहरुको राजिनामाको विषय प्रतिपक्षको बेमौसमी बाजामात्रै हो : मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । आइतबार विशेष–साक्षात्कारमा बोल्दै मन्त्री ज्वालाले मन्त्रीहरुको राजीनामा आवश्यक नरहेको बताएका हुन् । 

    सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने उनको टिप्पणी छ । 

    नेकपा (एकीकृत समाजवादी) का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रसंग आउनु नै गलत भएको बताए । उनले एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाए ।

    साक्षात्कारमा बोल्दै मन्त्री ज्वालाले कसैले भन्दैमा अहिलेको सरकार नढल्नेसमेत स्पष्ट पारे । उनले वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने र वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरे । 

    यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । 
    ‘बालुवाटारमा प्रधानमन्त्रीको निवासलाई बिस्तार गर्नको लागि कुनै बेला नीतिगत निर्णय भयो । अब नीतिगत निर्णय गर्दैमा छानबिन हुने अनि कारबाही हुन थाल्यो भने त केही निर्णय नगरेर बस्नुपर्यो नि । यो चूनौति सामना तयार अध्यक्ष माधव नेपाल तयार हुनुहुन्छ । उहाँ त्यसमा एकदम निर्दोष हुनुहुन्छ । उहाँ क्लिन हुनुहुन्छ’, उनले भने, ‘त्यतिमात्रै होईन, अहिलेसम्मको उहाँको राजनीतिक जीवन अत्यन्तै पारदर्शी पनि छ । स्वच्छ छविको नेताको रुपमा कसैको नाम लिईन्छ भने त्यो माधव नेपालको नाम लिईन्छ । यस्ता कुराले, तर्सिनुपर्दैन । यो चूनौतिको सामना गर्न उहाँ तयार हुनुहुन्छ । हाम्रो पार्टी तयार छ ।’

    सो अवधिमा उनले आफू नेतृत्वको मन्त्रालयले भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको सुनाए । उनले सरकारले नै राम्रो काम गरिरहेको दाबी गरे । 

    मन्त्री ज्वालाले आफूले पनि राम्रो कामको सुरुवात गरेको जिकिर गरे । उनले भने–‘पूर्वाधारको कुरा गर्दा अब काम गर्ने र नगर्नेहरुको वर्गीकरण गर्छौं । ठेक्का लिने अनि काम नगर्ने गर्नुहुँदैन । काम गर्नेहरुलाई प्रोत्साहन गर्छौं । तर, काम नगर्नेहरुलाई हस्तक्षेप गर्छौं । कामको लागि सहजीकरण गर्न तयार छु । निर्माण व्यवसायीहरुले पनि निर्धारित समयमा गुणस्तरीय काम गर्नुपर्छ ।’

    उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको दाबी गरे ।

    कार्यक्रममा उनले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको समेत स्पष्ट पारे । उनले निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको बताए । तर राजश्व संकलनमा मन्दी आएको कारण एकैपटक भुक्तानी गर्न नसकिने स्थिति भएको बारे बताए । 


    images
    images

    Logo