काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको दाबी गरेका छन् । आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ओलीले अहिलेको संसद एमालेले चलाउन खोजेपनि सरकारले चल्न नदिएको बताएका हुन् ।
उनले भने,‘अहिलेको संसदको अवरोध तपाईंहरुले देख्नभएको छ । हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्याकजुरुक्क सबै उठेर हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ ।’
ओलीले संसद निदाएर बस्ने थलो नभएको बताए । ‘संसद अवरोध हुनै हुँदैन । गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन । संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो ।’ उनले भने, ‘देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद निदाएर बस्ने थलो होइन ।’
ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताए । उनले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गरे । उनले सरकार अपराधिलाई जोगाएर स्टण्डबाजीमा उत्रिएको टिप्पणी गरे ।



